काठमाडौं, २७ साउन । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ ।

असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो ।

निर्माता राजेश वंशलले फागुन ५ गतेका लागि नयाँ प्रदर्शन मिति तोकिएको बताए । उनले वितरक, हल संचालक एवं चलचित्रकर्मीहरुसँगको सरसल्लाहमा चलचित्रलाई फागुनमा ल्याउने निर्णय गरिएको जानकारी गराए ।

चलचित्रको केही प्राविधिक कामहरु बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महशुस भएकाले उक्त मितिबाट केही पछाडि सारिएको निर्देशक नारायण रायमाझीले बताए ।

निर्णय अनपेक्षित भएपनि समग्र चलचित्र क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाइ छ । निर्देशक रायमाझीले भने, ‘यसलाई सबैले सकारात्मक रुपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ ।’

चलचित्र ‘परदेशी २’ मा प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटी लगायतको मुख्य भूमिका छ ।