एजेन्सी, २७ साउन । भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना संक्रमित भएका छन् ।

सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार ५६१ नयाँ संक्रमित भएका हुन् ।

यससँगै भारतमा हाल कुल संक्रमितको संख्या ४ करोड ४२ लाख २३ हजार ५५७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।

भारतमा दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख २३ हजार ५३५ रहेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४९ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म ५ लाख २६ हजार ९२८ जनाको मृत्यु भइसकेको छ ।

भारतमा बिहीबार एक दिनमा १८ हजार ५३ जना संक्रमणमुक्त भएका छन् । यसैसँगै कूल ४ करोड ३५ लाख ७३ हजार ९४ जना कोरोनामुक्त भएका छन् । नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोनाविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयबाट हालसम्म २ अर्ब ७ करोड ४७ लाख १९ हजार ३४ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८७ करोड ९० लाख भन्दा बढी जनाको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।