बागमती प्रदेश सरकारद्वारा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत

हेटौंडा, २७ साउन । बागमती प्रदेश सरकारले ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयको माग अनुसार आर्थिक बर्ष ०७९/०८० का लागि मेडिकल अधिकृत, नर्स, फार्मेसी अधिकृत, ल्यावको जनशक्ति, सवारी चालक लगायतको दरबन्दी स्वीकृत भएको हो ।
मन्त्रीपरिषद्बाट स्वास्थ्य मन्त्रालयमा ६ जना, स्वास्थ्य निर्देशनालयमा १६ जना, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ जना, जनस्वास्थ्य प्रयोगशालामा १३ जना, स्वास्थ्य तालिम केन्द्रमा २ जना, आयुर्वेद औषधी उत्पादन केन्द्रमा १६ जनाको दरबन्दी स्वीकृत भएको छ ।
यसैगरी, प्रदेश अस्पतालमा स्तरोन्नती भएका ५ सहित १३ अस्पतालका लागि ४ सय ६९ जना, १३ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका लागि ५४ जना र १३ वटा स्वास्थ्य कार्यालयका लागि ४९ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको स्वास्थ्य मन्त्री निमा लामाले जानकारी दिए ।
स्वीकृत दरबन्दीमा करारमार्फत जनशक्ति परिपूर्ति भएपछि प्रदेशको स्वास्थ्य सेवा थप प्रभावकारी हुने उनले बताए । दरबन्दी स्वीकृत भएपछि स्वास्थ्य इकाईहरुमा स्वास्थ्य समस्याको पहिचान, परीक्षण, निदान, रोकथाम र नियन्त्रणको काममा टेवा पुग्ने उनको भनाई छ ।
उनले चालु आर्थिक बर्षका लागि स्वीकृत दरबन्दीबाट प्रदेशमा स्वास्थ्य जनशक्तिको अभाव केही हदसम्म कम हुने र गुणस्तरीय सेवा प्रवाहमा मद्धत पुग्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


