एजेन्सी, २६ साउन । पछिल्लो समय मंकीपक्सका अनौठो र असामान्य लक्षण देखा परेको विज्ञहरूले बताएका छन् । मलद्वार दुख्ने र लिंग सुन्निने असामान्य लक्षण भएको बताएका हुन् ।

१९७ जनामा गरिएको अध्ययनअनुसार ७१ जनामा मलद्वार दुख्ने र ३१ जनामा लिंग सुन्निने समस्या देखिएको हो । सबै जनामध्ये २० जनालाई अस्पताल भर्ना गरिएको थियो । ती २० मध्ये ८ जना मलद्वार र ५ जना लिंग सुन्निने समस्या भएर अस्पताल भर्ना भएका थिए ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले त्यस किसिमका अनौठा र असामान्य लक्षण हुन सक्ने भन्दै सचेत रहन चेतावनी दिएको छ । असामान्य रूपमा शरीरका कुनै पनि भाग (ज्ञानेन्द्रियमा समेत) मा खटिरा वा दुखाई हुन सक्ने चेतावनी सीडीसीले दिएको हो । यद्यपि विश्व स्वास्थ्य संगठनले भने मंकीपक्सका संक्रमितमा मलद्वार तथा लिंग सुन्निने लक्षण हालसम्म नभेटिएको जनाएको छ ।

पछिल्लो समय मंकीपक्स भाइरस विश्वभर फैलिएपछि सावधानी अपनाइएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई स्वास्थ्य आपत्काल घोषणा गरिसकेको छ । त्यस्तै अमेरिकामा जनस्वास्थ्य आपत्काल घोषणा भएको छ ।

हालसम्म ८० मुलुकका १७ हजार बढी मानिसमा यसको संक्रमण भइसकेको तथ्यांक रहेको छ ।

(टाइम्स अफ इन्डियाबाट)