अभिनेत्री इनासले द इकोनोमिस्टविरुद्ध मुद्दा लड्ने

एजेन्सी, २६ साउन । इराकी अभिनेत्री इनास तालेबले ब्रिटेनको प्रतिष्ठित पत्रिका द इकोनोमिस्टविरुद्ध कानुनी मुद्दा लड्ने घोषणा गरेकी छन् ।
पत्रिकामा हालै मात्र छापिएको एक लेख अरब विश्वका महिलाका बारेमा लेखिएको थियो । जसमा अरबी महिलाहरू पुरुषको तुलनामा ‘मोटा’ हुने दाबी गरिएको थियो ।
‘अरब विश्वमा पुरुषको तुलनामा महिलाहरू अधिक मोटो किन हुन्छन् ?’ शीर्षकको लेखका लागि इनासको तस्बिर प्रयोग गरिएको थियो । उनले आफ्नो तस्बिर प्रयोग गरिएको भन्दै कानुनी बाटो अपनाउने घोषणा गरेकी हुन् ।
इराककी लोकप्रिय अभिनेत्री र टक सोकी होस्टसमेत रहेकी इनासले एक अन्तर्वार्तामा आफ्नो अनुमतिविना नै तस्बिर प्रयोग गरिएको बताइन् । उनले आफ्नो गोपनीयताको उल्लंघन भएको दाबी गरेकी छन् । उनले तस्बिरमा फोटोसप गरिएको बताएकी छन् ।
यो लेख गत जुलाईको अन्त्यमा प्रकाशित भएको थियो । जसमा इनासको तस्बिर राखिएको थियो । उनको त्यो तस्बिर नौ महिना पुरानो बेबिलोन इन्टरनेसनल फेस्टिभलमा खिचिएको थियो ।
लेखमा गरिबी र महिलाहरूलाई घरबाट निस्कन लगाइएको प्रतिबन्धका कारण पुरुषको तुलनामा अरब महिलाहरूको तौल अधिक हुने दाबी गरिएको थियो ।
इनासले लेखले अरब महिला र विशेष गरी इलाकी महिलाको अपमान गरेको बताएकी छन् । ४२ वर्षकी इनास इराकको लोकप्रिय अभिनेत्री हुन् । जसको इन्स्टाग्राममा ९० लाख बढी फलोअर्स छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


