एजेन्सी, २६ साउन । अमेरिकाको इन्डियाना राज्यमा भएको विस्फोटमा ३ जनाको मृत्यु भएको छ भने ३९ घर क्षतिग्रस्त भएका छन् ।इभान्सभिलमा भएको घटनामा अन्य घरहरू आंशिक र पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

घटनास्थलमा विभिन्न सुरक्षा निकायका अधिकारीहरु पुगेका छन् भने स्थानीयहरूलाई उक्त क्षेत्रबाट टाढा बस्न भनिएको छ । विष्फोट झण्डै १ सय फुटको परिधिमा भएको जनाइएको छ । के कारणले विस्फोट भएको हो भन्नेबारे अहिलेसम्म केही पनि खुलेको छैन ।

स्थानीय समय अनुसार दिउँसो १ बजेभन्दा पहिले विस्फोट भएको जनाइएको छ । प्रहरीले नजिकका सडकहरू बन्द गरेको छ । घटनामा तीनजना घाइते भएको बताइए पनि थप विवरण आएको छैन ।

विस्फोटका कारण उक्त क्षेत्रमा विद्युत् आपूर्तिमा समेत अवरोध उत्पन्न भएको थियो ।

दिउँसो ३ बजेसम्म १६२ घरमा विद्युत् आपूर्तिमा अवरोध थियो भने त्यो अगाडि १ हजारसम्म घरमा अवरोध आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।