काठमाडौं, २६ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने निर्णय गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले एनएसएल आगामी २३ असोजदेखि २ मंसिरसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यस्तै बैठकले एनएसएलसँग विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।

बैठकले अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय सम्झौता नवीकरण समिति गठन गरेको छ ।

समितिमा उपाध्यक्ष दीपक खतिवडा, कुमार केसी, एन्फा सदस्य टीकाराम लामा, मनिराज विष्ट, रवीन्द्र चन्द र पुरुषोत्तम थापा छन् ।
७ सदस्यीय सम्झौता नवीकरण समितिले एनएसएलसँग त्रुटिपूर्ण सम्झौता खारेज गर्दै सम्झौता नवीकरण गर्नेछ ।

पछिल्लो समय ञएझ डिभिजन क्लबले असन्तुष्टि जनाएपछि एनएसएलको आयोजना विवादमा परेको थियो । एनएसएलमा यस पटक १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस वर्ष तीन टोलीलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टोलीको संख्या १० पुर्याएको हो ।

विराटनगर सिटी एफसी, वीरगञ्ज युनाइटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, साविक विजेता काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभागिता हुनेछ ।

प्रतियोगिता काठमाडौं र पोखरामा सञ्चालन गर्ने आयोजकको तयारी छ ।