जनकपुरधाम, २५ साउन । धनुषामा १२ हजार १९४ नयाँ मतदाता थपिएका छन् ।

असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा सो संख्यामा नयाँ मतदाता थपिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय यदुकोहामा गरी तीन स्थानमा नामावली संकलनको काम थालिएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णा राउतका अनुसार जिल्लामा पुरुष ६ हजार ९९८ र महिला ५ हजार १९ जना नयाँ मतदाता थपिएका छन् । त्यस्तै, जिल्ला बाहिरका ४५० नयाँ मतदाता थपिएका हुन् । जसमा पुरुष ३१२ र महिला १३८ जना रहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयमा २ हजार ५३९ पुरुष र १ हजार ४७४ महिला गरी कूल ४ हजार १३ , जिल्ला निर्वाचन कार्यालयमा ३ हजार ११८ पुरुष र २ हजार ६७७ महिला गरी कूल ५ हजार ७९५ र इलाका प्रशासन कार्यालय यदुकोहामा १ हजार ३४१ पुरुष र १ हजार ४५ महिला गरी २ हजार ३८६ नयाँ मतदाता थपिएका हुन् ।

योसँगै नयाँ मतदाताको कूल संख्या रुजु भएर आएपछि मात्र यकिनका साथ भन्न सकिने सूचना अधिकारी राउतले बताए ।

यसअघि गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनुषामा ४ लाख ६७ हजार ३८८ मतदाता रहेका थिए । जसमध्ये पुरुष २ लाख ४८ हजार ८४०, महिला २ लाख १८ हजार ५४२ र अन्य ६ जना थिए ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।