निर्वाचन कार्यतालिका स्वीकृत, उम्मेदवारी दर्ता असोज २३ गते

काठमाडौं, २४ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका स्वीकृत भएको छ ।
आयोगको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।
निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने भएकोले उक्त काम गर्न भदौ २५ गते लेखी पठाइनेछ ।
निर्वाचन कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत असोज ११ गते नियुक्त गरिनेछ भने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय असोज २१ गते स्थापना हुने भएको छ ।
त्यस्तै, प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता असोज २३ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन असोज २६ गते र मतपत्र छपाई कार्य सुरु असोज २८ गतेदेखि गरिने आयोगले जनाएको छ ।
मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण र राजनीतिक दलको प्रचार प्रसार अवधि असोज २८ देखि मंसिर १ गतेसम्मका लागि तोकिएको छ ।
निर्वाचनको मौन अवधि मंसिर १ गते राति १२ बजेदेखि सुरु हुनेछ भने मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा तथा ३३० प्रदेशसभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


