काठमाडौं, २३ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।

भारतीय पूर्वअलराउन्डर प्रभाकरले देशका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टेस्टमा १६०० रन बनाउनुका साथै ९६ विकेट हात पारेका छन् । त्यस्तै, प्रभाकरले एकदिवसीय अन्तर्राष्ट्रियमा १८५८ रन बनाउनुका साथै १५७ विकेट लिएका छन् ।

रणजी ट्रफी विजेता प्रभाकरसँग अफगानिस्ताको राष्ट्रिय टोली तथा रणजी ट्रफीका विभिन्न टोलीको प्रशिक्षण सम्हालेको अनुभव छ ।

५९ वर्षीय प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताए । ‘नेपालमा क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर म नेपाली क्रिकेट टोलीलाई क्रिकेटको बलियो बनाउनका लागि काम गर्न चाहन्छु,’ क्यानसँगको सम्झौतापछि उनले भनेका छन् ।

मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो ।