जनकपुरधाम, २२ साउन । मधेस प्रदेश सरकारले एकसाताभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रदेश प्रमुखमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको नेतृत्वमा गएको मन्त्रीहरु सहितको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको ब्यवस्था गरेको तथा अनूसुचि ६ को कम संख्या १ मा प्रहरी, शान्ती सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेपनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नसकेको हुँदा अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गरेको छ ।

गृहमन्त्री साहले भने, ‘हामीले पटक–पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ, संघीय सरकारले कुनै गम्भीरता देखाएको छैन, एक सातासम्म पनि प्रहरी समायोजन नभए हामी बाध्य भएर संघीय सरकारबिरुद्ध संघर्षमा उत्रिन्छौँ ।’

केही साताअघि जनकपुरधाममा भएको सातै प्रदेशका गृहमन्त्रीको सामूहिक बैठकले तत्काल प्रहरी समायोजन गर्न आग्रह गरेको थियो ।

साथै मधेस प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा छुट्टै आग्रह गरेपनि सङ्घीय सरकार त्यसतर्फ ध्यान नदिएको गुनासो गर्दै मन्त्री साहले संविधानले प्रदेश सरकारलाई दिएको अधिकारसमेत सङ्घीय सरकारले खोस्ने, अपव्याख्या गर्ने र आश्वासन मात्रै दिने गरेकाले प्रदेश सरकार सङ्घर्षमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

मधेश सरकारको अगुवाइमा गत असार २३ गते ६ वटा प्रदेशका गृहमन्त्रीको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वयसम्बन्धी ऐनको आधारमा संघीय सरकारले साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादव, कृषिमन्त्री विजय कुमार यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, खानेपानी तथा उर्जामन्त्री ओम प्रकाश शर्मा सहित सहभागी थिए ।