आफू सीमित समयका लागि आएकोले काम गरेर देखाउने केसीको प्रतिबद्धता

काठमाडौं, २१ साउन । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफू सीमित समयका लागि आएको र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
क्याराभान नेपाल प्रालिले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै केसीले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफूले काम गर्ने बताएका हुन् ।
‘चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्ति भएको छ । थुप्रै समस्या छन् । जसको समाधानको बाटो खोज्दै अगाडि बढ्नेछु । समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ । काम गर्न आएको हुँ । छोटो समय नै सही काम गरेर देखाउने छु ।’
नेपालको मौलिक कथाका विषयमा आफ्नो चिन्तन पहिलेदेखि नै भएको अभिव्यक्ति उनको थियो । नेपाली सिनेमालाई विश्व बजारीकरण गर्न प्राविधिक पक्षलाई बलियो बनाउनुपर्ने आवश्यकतालाई उनले औँल्याएका छन् । जसका लागि विकास बोर्डले दक्ष प्राविधिक उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने भनाई उनको छ ।
जीवनको ४० वर्ष आफूले सिनेमा क्षेत्रमा बिताएकाले चलचित्र निर्देशक, निर्माता, लेखक, कलाकार, प्राविधिकका समस्यालाई नजिकबाट नियालेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


