मधेस प्रदेश : पौने ३ करोडमा खरिद गरिएका उपकरण र सफ्टवेयर दुईवर्षसम्म पनि प्रयोगमा ल्याइएनन्

जनकपुरधाम, २१ साउन । अनलाइन प्रशासनिक सेवा प्रवाहलाई ध्यानमा राखी दुई वर्षअघि मधेस प्रदेश सरकारका मन्त्रालयहरुले खरिद गरेको विभिन्न उपकरण र सफ्टवेयरहरु अहिलेसम्म प्रयोगमा ल्याइएका छैनन् ।
करिव पौने ३ करोडमा खरिद गरिएका उपकरण र सफ्टवेयरहरु मन्त्रालय र मातहतका कार्यालयलाई उक्त सिस्टममा राख्नका लागि खरिद गरिएपनि त्यसलाई अहिलेसम्म प्रयोगमा ल्याउन नसकिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह तथा सञ्चार मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलगायतकाले आर्थिक वर्ष २०७७/७८ मा २ करोड ७५ लाखमा खरिद गरेका उपकरण र सफ्टवेयर अहिलेसम्म प्रयोगमा नल्याइएको पाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६६ लाख १८ हजारमा कार्यालय आयोजना व्यवस्थापन, अफिस अटोमेसन लगायतका ६ प्रकारका सफ्टवेयर खरिद गरेपनि ती सफ्टवेयरहरु अहिलेसम्म प्रयोगमा आएका छैैनन् । अब सफ्टवेरको सुधार तथा मर्मत सेवा अवधिसमेत समाप्त भइसकेको छ ।
त्यस्तै, गृह तथा सञ्चार मन्त्रालयले मधेस भवनको सुरक्षाका लागि सुरक्षा सम्बन्धी डिटेक्टर, स्क्यानर, कम्प्युटर लगायतका ९८ लाख ४४ हजारको उपकरण खरिद गरेको छ । तर, एक वर्षअघि खरिद गरिएका ती उपकरणहरु जडान भने अहिलेसम्म पनि भएका छैनन् । ति सामानहरुको प्रविधि समेत परीक्षण नगरी भुक्तानी दिइएको पाइएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको उपभोक्ता हित संरक्षण निर्देशनालयले पनि १३ लाख ९६ हजार रुपैयाँमा ३ वटा सफ्टवेयर खरिद गरेको छ । तर, ती सफ्टवेयरहरु पनि अहिलेसम्म प्रयोगमा आएका छैनन् ।
त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि नापी सर्भे प्रयोजनका लागि ९७ लाख २० हजारमा ड्रोन क्यामेरा लगायतका उपकरण खरिद गरेको थियो । तीनिहरु पनि प्रयोग आएका छैनन् ।
यससम्बन्धमा गृहमन्त्री भरतप्रसाद साहले अघिल्ला मन्त्रीहरूले खरिद गरेका उपकरण र सफ्टवेयरहरु अहिलेसम्म प्रयोगमा नल्याएको स्वीकार गरेका छन् ।
उनले भने, ‘सफ्टवेर प्रयोग गर्ने विषयमा सुरक्षा निकायसँग छलफल गरेका छौं । चाँडै भवन निर्माण गरेर प्रयोगमा ल्याउँछौं ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


