काठमाडौं, २० साउन । नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग गरेको छ ।

विभिन्न उपसमितिसमेत गठन गरेर सरकार प्रतियोगिताको तयारीमा जुटिसक्दा कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघले सो माग गरेको हो ।

पोखरामा शुक्रबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष देवेन्द्र शेरचनले आफूहरूलाई अपनत्वसमेत नदिइएको र दसैँतिहारको बेलामा खेलकुद प्रतियोगिता उपयुक्त नहुने भएकोले मिति परिमार्जन हुनुपर्ने बताए ।

संघले प्रतियोगितामा आफूहरूको अपनत्व हुने गरी कुनै पनि समितिमा नराखिएकोमा आपत्तिसमेत जनाएको छ। संघले मिति सार्नुपर्ने मागसहित गण्डकीमै हुने प्रतियोगितामा प्रदेशमा संघले पनि अपनत्व पाउनुपर्ने, सातै प्रदेशमा खेलकुदको लागि आवश्यक तयारी, प्रशिक्षण, छनोटबिना नै प्रतियोगिता आयोजना गरिएकोले यथेष्ट समय लिई आवश्यक पूर्वतयारी गरिनुपर्ने माग गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले खेल क्षेत्रको नेतृत्व पटक–पटक वामपन्थीले लिँदा भ्रष्टाचार बढेको भन्दै पारदर्शीरुपमा प्रस्तुत गर्न आग्रहसमेत गरे ।