उम्मेदवारी दर्तासँगै सांसदको पद स्वतः सकिन्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौं, १९ साउन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारी दर्ता गरेसँगै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पद सकिने बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन् । उनले त्यसको कानुनी व्याख्या गरेर आयोगले सार्वजनिक गर्न पनि बताए ।
सरकारले मंसिर ४ गतेका लागि निर्वाचन मिति तोकिएपछि आयोगले आज पत्रकार सम्मेलन गरेर सबै उम्मेदवारका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउनका लागि बहालवाला सांसदको पदावधिबारे टुंगो लगाइने बताए ।
’प्रतिनिधिसभा र प्रदेशसभाको पदमा दशैँलगत्तै उम्मेदवारी दर्ता गर्नुपर्ने गरी मिति तय गर्नुपर्ने देखिन्छ, उम्मेदवारी दिएपछि निजहरूको पद स्वतः सकिएको मानिनुपर्छ भन्ने आयोगको धारणा छ । कानुनसम्मत् ढंगले व्याख्या गरेर अगाडि बढाउँछौँ,’ उनले भने ।
यद्यपि उनले प्रदेशसभा र प्रतिनिधिसभाको कार्यकालको व्याख्या आयोगले नगर्ने बताए । उनले निर्वाचित भएको मितिबाट कार्यकाल सुरु हुने र त्यसको पाँच वर्षमा सकिने व्यवस्था रहेको पनि स्मरण गराए । उनले सांसदहरूको पदावधि अन्तर्राष्ट्रिय मूल्य मान्यता, संसदीय अभ्यास, संविधान र कानुनी व्यवस्थाअनुसार हुनुपर्ने बताए ।
थपलियाले निर्वाचनमा सबै उम्मेदवारलाई समान अवसर र समान खेलमैदान हुनुपर्ने आफूहरुको मान्यता रहेको बताए । त्यस अनुसार ४ मंसिरको चुनावमा उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि स्वतः समाप्त हुने व्यवस्था गर्ने पनि बताए ।
उनले दशैंको लगत्तै उम्मेदवारी दर्ताको कार्यतालिका बनाउने र उम्मेदवारी दिने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि त्यतिबेलै सकिने व्यवस्था गर्ने पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


