एजेन्सी, १९ साउन । दक्षिण कोरियामा २४ घण्टाको समयावधिमा १ लाख ७ हजार ८९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या २ करोड ६० लाख १५४ पुगेको स्वास्थ्य अधिकारीले बताएका छन् । अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण केही घटेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले जानकारी दिएको थियो ।

नयाँ केसमध्ये ४३५ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४६ हजार ३२९ जना कोरोनामुक्त भएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या ३१० पुगेको छ । यस अवधिमा थप ३४ जनाको मृत्यु भएपछि कोरोना शुरु भएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार १४४ पुगेको छ । कूल मृत्युदर ०.१२ प्रतिशत रहेको छ ।