ह्याप्पी स्माइल हेल्थ फाउण्डेशनद्वारा मुख तथा दाँत सम्बन्धी दुई दिने चेतनामूलक कार्यक्रम सञ्चालन

जनकपुरधाम, १९ साउन । दाँत तथा मुखको समस्या शरीरका अन्य रोग जस्तै प्रमुख १० रोगको रुपमा लिने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको आधा भन्दा बढी जनसंख्या कुनै न कुनै तवरले दाँत तथा मुखसम्बन्धी समस्याबाट ग्रसित रहेका छन् ।
यससम्बन्धी सरकारी निकाय वा विभिन्न निति निर्माताहरुको लागि एक चुनौती र समाधानको लागि चिन्ताको विषय रहेको छ ।
नेपाल लगायत विश्वका अन्य देशहरुमा दन्त स्वास्थ्य क्षेत्रमा गुणस्तरीय पहुँच पुग्न नसक्नुमा यस सम्बन्धी जनचेतनाको अभाव, दन्त स्वास्थ्य क्षेत्रमा सरकारी पहल कम हुनु, सावधानीका बारेमा जानकारी नहुनु, उपचार सुनिश्चित नगरिनुलगायत कारण रहेका छन् ।
यसै अवस्थालाई दृष्टिगत गर्दै ह्याप्पी स्माइल हेल्थ फाउण्डेशनले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
पछिल्लो समय ह्याप्पी स्माइल हेल्थ फाउण्डेशनले जनकपुरधामस्थित डेफोडिल्स पब्लिक स्कूलमा बालबालिकाको स्वस्थ्य मुख तथा दाँत सम्बन्धी दुई दिने चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
बिहीबारदेखि सुरु भएको कार्यक्रममा विद्यालयका ५५० बालबालिकाको निशुल्क दन्त उपचार तथा परामर्श प्रदान गरिने फाउण्डेशनका अध्यक्ष डाक्टर मारिशा दाहालले बताइन् ।
डाक्टर दाहालले फाउण्डेशनले विगत करिव ५ वर्षदेखि स्वास्थ्य सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिइन् ।
विद्यालयकी संचालिका विणा ठाकुरको अध्यक्षतामा बिहीबार आयोजित कार्यक्रममा प्रमुख अतिथी जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले फाउण्डेशनको यस कार्यलाई सराहना गरेका छन् ।
कार्यक्रममा ह्याप्पी स्माइल हेल्थ फाउण्डेशन धनुषाका अध्यक्ष डाक्टर सुनिल साह, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डाक्टर अंकुर साह, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष सुरेश झा, धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरे, समाजसेवी अमरचन्द्र अनिल, तराइ डेन्टल क्लिनिकका संचालिका डा.मिशा महासेठलगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


