मधेस सरकारको साइकल खरिद प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम, १८ साउन । मधेस प्रदेश सरकारले खरिद गरेको साइकल प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्राहरूलाई वितरण गर्नका लागि खरिद गरिएको साइकल प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलिप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको बताइएको छ ।
मधेस प्रदेश सरकारले पहिलो चरणमा १० र अर्को चरणमा १७ हजार गरी कुल २७ हजार साइकल खरिद गरेर वितरण गरेको थियो । १७ हजार साइकल खरिद गर्दा तोकिएको ब्राण्डलाई छोडेर ब्राण्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
यसअघि अख्तियारको बर्दिबास कार्यालय प्रमुखले पहिलो चरणमा पनि भ्रष्टाचार भएको बताइसकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खरिद गरेको साइकलमा प्रारम्भिक चरणको अनुसन्धानमा अनियमितता भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका तत्कालिन प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।
उनले प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएकोले त्यो चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रुपमा अनुसन्धान थालेको बताएका थिए ।
प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । अख्तियारको टोलीले साइकल खरिदको फाइल नै नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


