साउन २९ गतेदेखि मधेस सरकारले संघीय सरकारविरुद्व आन्दोलन गर्ने

जनकपुरधाम, १८ साउन । मधेस प्रदेश सरकारले साउन २९ गतेदेखि संघीय सरकारविरुद्व आन्दोलन गर्ने भएको छ ।
बुधवार गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरी साउन २२ गते प्रदेशप्रमुख मार्फत सातदिने अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाउने र माग सम्बोधन नभए आठौं दिनदेखि सडक आन्दोलन थाल्ने बताएका हुन् ।
२२ गते मन्त्रीपरिषद्का सम्पूर्ण सदस्य, सांसदसहित सामूहिक रुपमा प्रदेश प्रहरी समायोजनका लागि ज्ञापनपत्र बुझाएर संघीय सरकारलाई सात दिनको समयसिमा दिइने मन्त्री साहले बताए ।
उनका अनुसार संघीय गृहमन्त्रालयले प्रहरी समायोजनको सम्पूर्ण काम पुरा गरिसकेको र नेपाल सरकारले निर्देशन दिए सात दिनभित्र समायोजन गर्न सकिने बताइसकेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव अघि समायोजन सम्भव नभएको आशयको प्रतिक्रिया दिएको बताए ।
मन्त्री साह आफूहरुको आन्दोलनमा अन्य ६ प्रदेशको समेत साथ रहेको बताउँदै जनकपुरधाममा भएको सवै प्रदेशका गृहमन्त्रीको सामूहिक घोषणा पत्रले पनि स्पष्ट गरिरहेको दावी गरेका छन् ।

मन्त्री साहले प्रदेश प्रहरी समायोजन र प्रमुख जिल्ला अधिकारी प्रदेश मातहत ल्याएर मात्र चुनावमा जानुपर्ने अन्यथा आफूहरुको आन्दोलन संघसम्म पुग्ने भएकाले चुनाव समेत प्रभावित हुने बताए ।
साहले भने, ‘स्थानिय सरकारको नगर प्रहरी हुने, संघीय सरकारले प्रहरीको कमाण्ड गर्ने तर, हामी भने के हातमा दही जमाएर बस्ने ? ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


