जनकपुरधाम, १७ साउन । मधेस प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । प्रदेशका जिल्लाहरुमा पछिल्लो केही दिनदेखि संक्रमितको संख्या बढ्दै गएको हो ।

असारको दोस्रो सातापछि संक्रमितको संख्या बढ्न थालेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिए ।

उनले सप्तरी तथा सिरहामा संक्रमितको संख्या शुन्य रहेपनि अन्य ६ वटा जिल्लाहरुमा ६५ जना सक्रिय संक्रमित रहेको बताए ।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढि धनुषामा ३८, रौतहटमा ९, महोत्तरीमा ८, सर्लाहीमा ३ तथा बारा र पर्सामा १/१ जना रहेका छन् । सक्रिय संक्रमित मध्ये १ जना सामान्य उपचारमा रहेपनि अन्य सबै होम आइसोलेसनमा रहेको निर्देशक झाले जानकारी दिए ।

परीक्षण गराउन आउनेको संख्या पनि थोरै रहेको उनले बताए । निर्देशक झाले धनुषामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भएको र सो प्रयोगशालाले निःशुल्क परीक्षण गरिरहेकोले संक्रमितको संख्या देखिएको र अन्य जिल्लाहरुमा परीक्षण कम भएकोले संक्रमितको संख्या कम रहेको बताए ।