उद्योगमैत्री वातावरण समृद्धिको आधार : मुख्यमन्त्री राउत

बारा, १७ साउन । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मुल आधार रहेको बताएका छन् ।
प्रदेश सरकारले बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उद्योगमैत्री वातावरण विना प्रदेश अथवा देशको समृद्धिको परिकल्पना समेत गर्न नसकिने बताएका हुन् ।
प्रदेश सरकारले उद्योगहरुका लागि विशेष प्याकेजको कार्यक्रमहरु ल्याए पनि संघीय कानूनको आभावमा कार्यान्वयन गर्न समस्या भईरहेको बताउँदै उनले जग्गाको स्वामित्व हस्तान्तरण लगायतका प्रक्रिया अविलम्ब सुरू गर्न संघीय सरकारसँग माग समेत गरे ।
सबैभन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा रहेको मधेस प्रदेशका युवाहरुलाई उचित तालिमको व्यवस्था गरि स्वदेशमै रोजगारी उपलब्ध गराउने प्रदेश सरकारको योजनामा सहकार्य गर्न मुख्यमन्त्री राउतले उद्योगीहरुलाई आग्रह समेत गरे ।
उद्योगधन्दाहरुको स्थापनादेखि सञ्चालन सम्ममा उत्पन्न विभिन्न समस्याहरुलाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको स्मरण गराउँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले सोमबार मात्र वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने गरेको निर्णयले ठुलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
सम्मेलनमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सम्मेलनबाट आउने निष्कर्षले प्रदेश सरकारलाई दिशा निर्देश गर्ने उल्लेख गरेका छन् ।औद्योगिक विकासका लागि प्रदेश सरकारले अवलम्बन गरेको नीतिहरुबारे जानकारी गराउँदै उनले प्रदेशको आर्थिक समृद्धि र विकासका लागि निजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको धारणा राखे ।
सम्मेलनमा उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले औद्योगिक सम्मेलनले प्रदेशमा उद्योग स्थापनाको वातावरण निर्माण गर्नुका साथै वर्तमान आवश्यकता र कानूनी जटिलता जस्ता समस्याहरुको समाधानको बाटो पहिल्याउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
सम्मेलनको उद्घाटन सत्रमा नेपालका लागि वेलायती राजदूत निकोला पोलिट, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिश मोर, उपाध्यक्ष राजेश अग्रवाल, मधेस प्रदेश संयोजक नरेश दास सहितकाले आ–आफ्नो मन्तव्य राखेका थिए ।
सम्मेलनमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव, खानेपानी तथा उर्जाविकास मन्त्री ओमप्रकाश शर्मा, प्रदेश सरकारका प्रमुख सचिव कृष्ण बहादुर राउत लगायत प्रदेशस्थित करिब एकसय जना उद्योगीहरुको सहभागिता रहेको छ ।
नेपाल उद्योग परिसंघ, स्वदेशी सिप परियोजना र युके एडको सहयोगमा मधेस सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनमा प्रदेश सरकारले प्रदेशको आर्थिक विकासमा योगदान दिने २३ उद्योगहरुलाई पुरस्कृत समेत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


