राखेपमा नियुक्त गर्नुपर्ने सदस्यहरुको टुंगो चाँडै लाग्छ : मन्त्री गहतराज

काठमाडौं, १५ साउन । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नियुक्त गर्नुपर्ने सदस्यहरुको चाँडै टुंगो लाग्ने बताएका छन् ।
आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११३औँ बोर्ड बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष समेत रहेका मन्त्री गहतराले केही निकायका प्रतिनिधि नियुक्त गर्न बाँकी रहेको भन्दै छिट्टै बोर्डलाई पूर्णता दिने बताएका हुन् ।
ओलम्पिकको प्रतिनिधि, पाराओलम्पिकको प्रतिनिधि, विश्वविद्यालयको प्रतिनिधि र राखेपकै एक सदस्य आउन बाँकी छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै वार्षिक कार्ययोजना बनाउनका लागि राखेपको पहिलो बोर्ड बैठक बसेको हो ।
बोर्ड सदस्य हरि खड्का नेपाल पुलिसमा जागिरे रहँदा गलत प्रमाणपत्र बुझाएकोमा अदालतबाट दोषी ठहर भएपछि खड्काको पद स्वतः रिक्त थियो । सोही पद र अन्य निकायका सदस्य नियुक्त गर्न बाँकी छ ।
मन्त्री गहतराजले यद्यपि बोर्डले पूर्ण आकार पाइसकेको बताए । बोर्डको बैठक बसेर गरेका निर्णयबाट खेलकुदका कामलाई अगाडि बढाउनुपर्ने मन्त्री गहतराजले सुझाब दिए ।
संस्थाबाट गरिने निर्णयबाट संस्थाहरुको औचित्य झल्किने भन्दै अडिग रही काम गर्न आग्रह गर्दै उनले बोर्ड बैठक कम्तीमा पनि वर्षमा दुईपटक बस्नुपर्ने भनिए पनि आवश्यकताका आधारमा जतिपटक पनि बस्न सक्ने प्रस्ट पारे ।
मन्त्री गहतराजले नयाँ अािर्थक वर्ष सुरु भएसँगै नजिकिँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, राखेपको वार्षिक कार्य योजनालाई एजेन्डा बनाई बोर्ड बैठक बोलाएका हुन् । राष्ट्रिय खेलकुद विकास ऐनमा बोर्ड बैठकले वार्षिक कार्यक्रम योजना तथा बजेटमाथि छलफल गरी स्वीकृत गर्ने प्रावधान छ ।
बैठकमा मुख्यतः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा केन्द्रित रहेर छलफल हुन लागेको हो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदै छ । त्यसका लागि विभिन्न उपसमिति सहित तयारीका काम अघि बढाइएको छ ।
प्रतियोगिताको तयारीस्वरुप खेलसामग्री खरिदका लागि टेण्डर प्रक्रिया अघि बढेको छ । गठित वभिन्न उपसमितिका संयोजकले आफ्नो जिम्मेवारीलाई पनि अगाडि बढाइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


