जनकपुरधाम, १५ साउन । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटरव्याजीविरूद्ध कडा कदम चाल्ने बताएका छन् ।

आइतबार मिटरव्याजविरूद्ध संघर्ष समितिको ज्ञापनपत्र बुझदै मुख्यमन्त्री राउतले मिटरव्याजीहरूबाट पीडितहरूको पक्षमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै उनीहरूविरूद्ध कडा कदम चाल्ने आश्वासन दिएका हुन् ।

मिटरव्याज सरकारको लागि ठुलो चुनौती बन्दै गएको बताउँदै मुख्यमन्त्री राउतले समाजको विकृतिको रूपमा रहेका मिटरव्याजीहरूलाई कानूनको दायरा भित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘हामी तपाईहरूको समस्याप्रति गम्भीर छौं । प्रहरी प्रशासन प्रदेश मातहत नहुदाँ ठोस कदम चाल्न सकिएको छैन । सम्बन्धित ठाँउहरूमा आवाज उठाउँदै आएको छु । चाँडै समस्या समाधानको बाटो पहिल्याइन्छ ।’

संघर्ष समितिका संयोजक मनोज कुमार पासवानको नेतृत्वमा मधेशभवन पुगेका पीडितहरूले ७ बुँदे मागसहितको ज्ञापनपत्र मुख्यमन्त्री राउतलाई बुझाएका थिए ।