काठमाडौं, १४ साउन । मानिस स्वस्थ रहन राम्रो निद्रा आवश्यक छ । निद्रा पुग्दा शरीर र मस्तिष्कले राम्रो काम गर्दछ । कतिपयलाई समयमा निद्रा नलाग्ने समस्या हुन्छ । अनिद्राले मानसिक र शारीरिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ । राम्रो निद्राका लागि घरमै गर्न सकिने केही विधिहरूको बारेमा आज हामी चर्चा गर्ने छौँ ।

१. सुत्ने एउटा समय फिक्स गर्ने

धेरै मानिसहरूलाई सुत्ने तालिका सेट गर्नाले सजिलोसँग निदाउन मद्दत हुन्छ । जति बेला मन लाग्छ त्यति बेला सुत्ने बानीले निद नलाग्ने समस्या उत्पन्न हुन्छ । सुत्नलाई कुनै एउटा समय फिक्स गर्यो भने सोही समयमा सुत्ने बानी लाग्छ ।

२.दिउँसो नसुत्ने

रातमा कम निद्रा लाग्ने मानिसहरूलाई दिनको समयमा निद्रा लाग्ने गर्छ । तर अनुसन्धानहरूले दिउँसो जति सुते पनि राती सुतेको जस्तो नहुने देखाएका छन् । दिउँसो बढी सुत्नेहरूमा झन् अनिद्रा बढ्छ ।

३.घडी हेरेको हर्यैक नगर्ने

निद्रा नलागेपछि मानिसहरू कति बज्यो भनेर घडी हेरिरहने हुन्छन् । अनिद्रा भएका मानिसहरूमा घडी हेर्ने सामान्य कुरा हो । तर यसले निद्रा नलाग्ने र एन्जाइटी बढ्ने हुन सक्छ ।

४.सुत्नु अघि लेख्ने अभ्यास गर्नुहोस्

निद्रा नलागे पछि मानिसहरू धेरै सोच्न थाल्छन् । जसले थप चिन्ता र नकारात्मक भावनाहरू बढाउँछ । सोहिकारण आफ्ना भावना र विचारहरू लेख्ने बानी लगाउनु पर्छ ।

५. व्यायाम गर्ने

व्यायामले मस्तिष्कमा सेरोटोनिनको उत्पादन बढाएर र तनाव हार्मोन कोर्टिसोलको स्तर घटाएर निद्राको अवधि र गुणस्तर बढाउन सक्छ । जसले तपाईँलाई निदाउन मद्दत हुन सक्छ ।

६.आरामदायी सङ्गीत सुन्नुहोस्

सङ्गीतले निद्राको गुणस्तरमा उल्लेखनीय सुधार गर्न सक्छ । निद्रा नलागेको समयमा आफूलाई मन पर्ने गीतहरू सुन्दा मन आनन्दित हुन्छ र निदाउन सहज हुन्छ ।

७.सबै बत्ती र फोनहरू बन्द गर्नुस्

कसै कसैलाई बत्ती बालेर निदाउने बानी हुन्छ भने कसै कसैलाई बत्ती निभाएर निदाउने बानी हुन्छ । टिभी हेर्ने, गेम खेल्ने, फोन चलाउने बानीले सुत्न निकै गाह्रो बनाउन सक्छ । निदाउन प्रयास गर्दा गर्दै यस्ता सबै चिजहरू बन्द गर्नुपर्छ ।

८.आफूलाई खुसी बनाउने चीजहरू कल्पना गर्नुहोस्

आफूलाई खुसी पार्ने चिजहरू, आफूले बिताएको रमाइलो समय याद गर्नाले पनि निदाउन सहज हुन सक्छ ।

९.सजिलो हुने गरी सुत्नुस्

कसै कसैलाई बाक्लो चिजमा सुत्ने बानी हुन्छ भने कसैलाई पातलो चिजमा भए पनि निद्रा लाग्छ। आफूलाई सहज हुने गरी सुत्दा निदाउन सकिन्छ ।

१०.जागा रहन प्रयास गर्नुहोस्

निदाउन नसक्दा जागा रहने प्रयास गरेर निद लाग्छ? भनेर अचम्म लाग्न सक्छ । तर तपाई निदाउँछु नै भनेर निदाउन खोज्नु भयो भने निद्रा नलाग्न पनि सक्छ । आफैंलाई निदाउन बाध्य पारेर उत्पन्न गरिएको तनाव र चिन्ताले तपाईँलाई निदाउनबाट रोक्न सक्छ । तर जागा रहने प्रयास गर्नु भो भने निद्रा लाग्ने सम्भावना बढी हुन्छ ।