काठमाडौँ, १४ साउन । काठमाडौँ महानगरपालिकामा १८ हजार कुकुरको बन्ध्याकरण गरिएको छ ।

‘द जाने गुडल इन्स्टिच्युट’को सहयोगमा ०१६ देखि अहिलेसम्म १८ हजार कुकुरको बन्ध्याकरण गरेको जानकारी महानगरले दिएको छ ।

यो अवधिमा २२ हजार कुकुरलाई रेबिजविरुद्ध खोप लगाइएको जानकारी महानगरले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

जनावर, वातावरण संरक्षण तथा समाज कल्याणका क्षेत्रमा क्रियाशील उक्त इन्स्टिच्युटले कुकुर व्यवस्थापनका लागि महानगरका सबै वडामा वडाध्यक्षको नेतृत्वमा समिति गठन गरी काम गर्दै आएको छ । इन्स्टिच्युटले मानव स्वास्थ्य, बालमनोविज्ञान तथा वातावरण जोगाउनका लागि चेतनामूलक कार्यसमेत गर्दै आएको छ ।

रेबिजको आशंका गरिएको ५०० कुकुरको परीक्षण गरिएको महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाले चालु आवमा कुकुर व्यवस्थापनका लागि १ करोड ६० लाख बजेट विनियोजन गरेको छ । यो रकम गत आवको तुलनामा ६० लाख बढी हो ।

महानगरभित्र घरपालुवा कुकुरको संख्या करिब ८४ हजार रहेको पनि महानगरले जनाएको छ ।