काठमाडौं, १२ साउन । राष्ट्रिय परीक्षा बोर्डले बुधबार प्रकाशन गरेको एसईईको नतिजामा चरम लापरबाही देखिएको छ ।

विशेषगरी संस्कृत माध्यमिक विद्यालय र वेद विद्याश्रमतर्फको नतिजामा लापरबाही देखिएको हो ।

एसईईको नतिजाअन्तर्गत कुनैमा परीक्षा नदिएको विषयमा अंक प्रदान गरिएको छ भने कुनैमा परीक्षा दिएको विषयमा अनुपस्थित देखाइएको छ । संस्कृत माध्यमि विद्यालय रानीपोखरी (दरबार हाई स्कुल)का शिक्षक निश्चल अधिकारीका अनुसार केही परीक्षार्थीको विषय नमिलाई लब्धाङ्कपत्र दिइएको तथा केही विषयमा अनुपस्थित देखाएको पाइएको छ ।

अधिकारीका अनुसार अंग्रेजी विषयको सट्टा वैकल्पिक संस्कृत रचना दिइएको छ भने विज्ञान विषयको साटो व्याकरण र अनुवाद विषय दिई त्यसमा अनुपस्थित देखाइएको छ ।

यस्तो समस्या पहिलोपटक नभएर हरेकपटक आउने गरेको नेपाल वेद विद्याश्रमका शिक्षक शिवराज लामिछानेले बताए । बोर्डले गुरुकुल तथा वेदविद्याश्रमको नतिजा जहिल्यै बिगारेर निकाल्ने गरेको उल्लेख गर्दै उनले भने, ‘हरेक वर्ष संस्कृतको रिजल्टमा समस्या देखिन्छ, तर कहिल्यै परीक्षा बोर्डले समाधानको बाटो खोजेको देखिँदैन । यसमा दोषी को ?’

त्यस्तै संस्कृत मावि रानीपोखरीका प्रधानाध्यापक शिवराज अधिकारीले फेसबुकमा लेखेका छन्, यस वर्षको एसइई परीक्षाको परिणाम प्रकाशित गर्दा हाम्रो विद्यालय संस्कृत मावि (दरबार हाइस्कुल) को नतिजामा गम्भीर त्रुटिहरू देखिए। विद्यार्थीले परीक्षा नदिएका विषयहरू लब्धांकपत्रमा राखिएका छन्।

विद्यार्थीले फाराम भरेका र परीक्षा दिएका विषयहरू भने समाविष्ट छैनन् । काल्पनिक विषय राखी अनुपस्थित देखाइएको छ । यसले विद्यार्थी तथा अभिभावक वर्गमा पर्ने नकारात्मक प्रभावको जवाफदेही को ?’