एजेन्सी, ११ साउन । भारतीय क्रिकेटर केएल राहुलले वेस्ट इण्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज गुमाउने भएका छन् ।

कोरोनाका कारण राहुलले टी–२० सिरिज गुमाउने भएका हुन् । राहुललाई गत साता कोरोना संक्रमण भएको थियो । उनको आइसोलेसन अवधि आज सकिँदै छ ।

तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआइ) को मेडिकल टोलीले राहुललाई एक हप्ता आराम गर्न भनेको छ । जसका कारण उनले २९ जुलाईबाट सुरु हुने पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज गुमाउने पक्का भएको हो ।

हर्नियाको सर्जरीपश्चात राहुल हाल बैंगलोरमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमीमा रिह्याभ गरिरहेका छन् । उनले अगस्टमा हुने जिम्बाबे भ्रमणबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्ने अनुमान गरिएको छ ।