एजेन्सी, ११ साउन । अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् ।

उनले इटालीमा एकै दिनमा सर्वाधिक जर्सी बिक्री भएको कीर्तिमान कायम गरेका हुन् ।

डिबाला यसै सिजन युभेन्ट्समा सम्झौता सकिएपछि अर्को सिरि ए क्लब एएस रोमामा आबद्ध भएका हुन् । उनलाई अनुबन्ध गरेर जर्सी सार्वजनिक भएको पहिलो दिन अत्यधिक जर्सी विक्री भएको क्लबले जनाएको छ । प्रारम्भिक गणनाअनुसार पहिलो २४ घण्टामा रोमाले विश्वभर ५ लाख ३५ हजार जर्सी बेचेको छ ।

फ्रि ट्रान्सफरमा रोमा पुगेका डेबालालाई रोमामा भव्य स्वागत पनि गरिएको छ । उनको नाम अंकित जर्सी किन्न रोमाको स्टोरमा ठूलो लाम लागेको थियो ।

‘बिहानदेखि हामी एक छिन पनि बसेका छैनौं,’ रोमाको स्टोरमा रहेका एक कामदारले भने, ‘हामीले मात्र डिबालाको नाम रहेको जर्सी प्रिन्ट गरिरहेका छौं ।’ क्लबको वेबसाइटमा पनि समर्थकहरुले डिबालाको नाम अंकित जर्सी नै खोजिरहेका थिए ।

सन् २०१८ मा रोनाल्डो रियल मड्रिडबाट युभेन्ट्स पुगेको दिन उनको जर्सी ठूलो संख्यामा विक्री भएको थियो । त्यसबेला युभेन्टसले रोनाल्डोको ५ लाख २० हजार जर्सी बेचेको तथ्यांक थियो ।

रोमाले युभेन्ट्स तथा पार्लेमोका पूर्व डिबालले डिबालालाई जर्सी नं १० लगाउने प्रस्ताव गरेको थियो । रोमामा दिग्गज फरवार्ड फ्रान्सिस्को टोटीले प्रयोग गरेयता उक्त जर्सी अन्य खेलाडीले लगाएका छैनन् ।

डिबालाले उक्त प्रस्ताव अस्विकार गर्दै जर्सी नं २१ लगाउने भएका छन् । डिबालाले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट पनि २१ नम्बर जर्सी लगाउँदै आएका छन् ।