काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा बोर्डको बुधवार बसेको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।

बोर्ड परिसरमा आयोजित पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागी भएका ५ लाख १४ हजार ९७७ मध्ये ९ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याएको जानकारी दिए ।

२ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ जना बोर्डले लिएको एसईई परीक्षामा सहभागी भएका थिए ।

परीक्षामा सहभागी भएकामध्ये ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएको परीक्षा नियन्त्रक अर्यालले जानकारी बताए ।

सबैभन्दा धेरै १ लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जीपीए ल्याएका छन् भने १ लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएका छन् ।१.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या ३ हजार २८० रहेको बोर्डले बताएको छ ।

कोरोना संक्रमणको जोखिमको कारण अघिल्ला दुई वर्ष राम्रोसँग एसईई परीक्षा सञ्चालन गर्न नसकेको बोर्डले गत वैशाख ९ देखि २० गतेसम्म विद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गरेको थियो ।

कोभिड महामारीका कारण विगत दुई वर्ष अर्थात शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनका आधारमा विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजाको रुपमा प्रकाशित गरेको थियो ।