उद्योगमन्त्री बडूले गरे बन्द अवस्थामा रहेको जचुकालिको निरिक्षण

जनकपुरधाम, ११ साउन । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बन्द अवस्थामा रहेको जनकपुरधामस्थित चुरोट कारखानाको निरिक्षण गरेका छन् ।
बुधबार जनकपुरधाम आइपुगेका मन्त्री बडूले मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवसँग जचुकालीको वर्तमान अवस्था सम्बन्धमा केहीबेर कुराकानी गरी कारखानाको भवनका साथै त्यहाँका मेशिनहरुको निरिक्षण गरेका हुन् ।
उद्योगमन्त्री बडूले देश आयातमा बढी निर्भर रहेको समयमा बन्द तथा जिर्ण अवस्थामा रहेको कलकारखानालाई पुनःसंचालनमा ल्याउने तयारी स्वरुप आफूले जचुकालिको निरिक्षण गरेको प्रतिक्रिया दिए ।
राष्ट्रिय उत्पादन बृद्धि गर्ने सरकारको लक्ष्य अनुरुप जचुकालिलाई समेत सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । यसका लागि सरकारले बजेट पनि विनियोजन गरेको उनको भनाइ थियो ।
उनले भने, ‘जचुकालिका कति मेशिनहरुको उपयोग कसरी गर्न सकिन्छ, नेपाल सरकारले आफै चलाउने कि निजि क्षेत्रसँग मिलेर चलाउने लगायतका विषयमा छलफल गरी हामी ठोस निर्णय लिनेछौँ ।’

जचुकालीलाई पुनः सञ्चालनमा ल्याउनका लागि प्रदेश सरकारका साथै यहाँका उद्योगी व्ययवासीहरुसँग समेत छलफल गर्ने उनले बताए । मधेस सरकारले यहाँको जग्गा प्रशासनिक भवनका लागि प्रयोग गर्न मागेको विषयमा मन्त्री बडूले अहिले सरकारले यस विषयमा ठोस निर्णय नगरेकाले यसका विकल्पहरु खुल्ला रहेको बताए । यद्यपि प्रदेश सरकार पनि देशको जिम्मेवार निकाय रहेकाले प्रदेश सरकारको विचारलाई पनि आफूहरुले महत्वका साथ लिने उनले बताए ।
मधेस प्रदेश सरकारले प्रधानमन्त्री शेरशहादुर देउवासँग जनकपुर चुरोट कारखानाको प्राङ्गणलाई प्रशासनिक भवनको रुपमा प्रयोग गर्न दिन माग गरेको दुई दिन नबित्दै उद्योगमन्त्री बडूले कारखानाको निरिक्षण गरेका हुन् ।
दुईदिन अगाडी मात्रै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितको टोलि काठमाडौँ पुगेर प्रधानमन्त्री देउवालाई भेटी जचुकालीको प्राङ्गण प्रशासनिक भवनका लागि प्रयोग गर्न दिन मागसहित स्वामित्वका लागि ज्ञापनपत्रसमेत बुझाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


