चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौं, १० साउन । भारतको चेन्नईमा आयोजना हुने ४४औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरिएको छ ।
सिंहदरबारमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली टोलीलाई बिदाइ गरे ।
नेपाली टोलीलाई बिदाइ गर्दै मन्त्री श्रेष्ठले सफलताको शुभकामना दिए । ओलम्पियाड २८ जुलाई २८ तारिखदेखि ९ अगस्टसम्म सञ्चालन हुनेछ ।
ओलम्पियाडमा पुरुषतर्फ राष्ट्रिय विजेता पुरुषोतम चौंलागाईंसहित फिडेमास्टरद्वय रूपेश जयसवाल तथा क्षितीज भण्डारी एवं क्यान्डिडेटमास्टरद्वय विवेक थिङ तथा मिलन लामाले सहभागिता जनाउँदै छन् ।
त्यसैगरी महिलातर्फ राष्ट्रिय विजेता सुजना लोहनीसहित कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति थिङ रहेका छन् ।
सहभागी खेलाडीमध्ये रूपेशसँग २०१२(रसिया) एवं २०१८(जर्जिया) तथा सुजनासँग २०१६(अवरवैजान) तथा २०१८(जर्जिया) को अनुभव छ ।
त्यस्तै, क्षितिज भण्डारी २०१६(अजरवैजान)र विवेक २०१८(जर्जिया) ओलम्पियाडमा सहभागी भएका थिए । अन्य खेलाडीका लागि चेन्नई ओलम्पियाड नयाँ अनुभव हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


