जनकपुरधाम, ९ साउन । काठमाडौँ विश्वविद्यालयले जनकपुरधामको जानकी कलेज फर प्रोफेशनल स्टडिजसँगको सहकार्यमा आइटीसँग सम्बन्धित बी.टेक.एड. कोर्ष जनकपुरधाममै सञ्चालनमा ल्याउन लागेको छ ।

काठमाडौँ विश्वविद्यालयले आफ्नो विस्तारित कार्यक्रम अन्तर्गत जनकपुरधामको जानकी कलेजसँग सहकार्य गरेर सञ्चालनमा ल्याउन लागेको हो ।

आधुनिक शिक्षा पद्धतिमा सञ्चालनमा ल्याउन लागिएको यस कोर्षका लागि जानकी कलेजका लागि विश्वविद्यालयले ३० वटा सीट छुट्याएको छ । जसका लागि कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुले आउने शनिबार प्रवेश परिक्षा दिन सक्नेछन् ।

प्रवेश परिक्षामा कम्तीमा ४० प्रतिशत अंक ल्याउने विद्यार्थीलाई मात्रै भर्ना गरिने जानकी कलेजका चेयरम्यान पंकज जालानले जानकारी दिए ।

बी.टेक.मा भर्ना हुने विद्यार्थीहरुलाई यस कोर्षको स्लेवश अनुसार ८० प्रतिशत प्रयोगात्मक क्षमता देखाउनु पर्ने र २० प्रतिशत मात्रै लिखित रुपमै परिक्षा दिनुपर्ने जालानले बताए ।

उनले यहाँबाट उतीर्ण हुने विद्यार्थीहरुको मार्कसीट काठमाडौँ विश्वविद्यालयले नै उपलब्ध गराउने जानकारी दिए ।