जनकपुरधाम, ९ साउन । मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले एक बिरामीलाई मृत्युको मुखबाट जोगाएको छ ।

जनकपुर न्यूरो हस्पिटलका सञ्चालक न्यूरो सर्जन डा. विजय कुमार राउतले craniotomy and evacuation of hematoma एक बिरामीको सफल शल्यक्रिया गरी ज्यान जोगाएका हुन् ।

डा. राउतले महोत्तरीको बलबा नगरपालिका–४ पडौलस्थान बस्ने परशुराम यादवका २२ वर्षीय छोरा अनितेश कुमार यादवको सफल शल्यक्रिया गरेका छन् ।

मधेस प्रदेशको पहिलो न्यूरो अस्पताल जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले दुर्घटनामा परी घाइते भएका अनितेशको साउन २ गते सफल शल्यक्रिया गरेर ज्यान जोगाएको छ । ६ घण्टा लामो समय लगाएर शल्यक्रिया गरिएको अनितेशलाई तीन दिन भेन्टिलेटरमा राखिएको थियो ।

डा. राउतले अनितेशको सफलतापूर्वक शल्यक्रिया गरेपछि उनको जीवन कायापलट भएको उनका पिता परशुरामले बताए ।शल्यक्रियापछि अनितेश आफैं हिँड्न, बोल्न र खान सक्छन् । उनको शल्यक्रियाको घाउ विस्तारै निको हुँदै गएको छ ।

‘उनी अलि कमजोर छन्, तर, डाक्टरले समयसँगै निको हुन्छ भन्नु भएको छ,’ परशुराम भन्छन्, ‘हामी धेरै खुसी छौं– डाक्टरले मेरो छोराको जीवन बचाउनु भयो । हाम्रो लागि उहाँ भगवान हुनुहुन्छ ।’

जनकपुरधामस्थित जनकपुर न्यूरो हस्पिटल न्यूरो सम्बन्धी पहिलो हस्पिटल रहेको छ । यस अस्पतालले शरीरका विभिन्न भागको प्लास्टिक एवं कस्टेमिक सर्जरी लगायत अन्य सर्जन तथा रोगहरुको उपचार सेवा पुर्याउंँदै आएको छ ।

नेपालमा प्लास्टिक एवं कस्टेमिक सर्जरीको व्यवस्था काठमाडौंपछि जनकपुरधामकै न्यूरो अस्पतालमा रहेको दाबी डा. राउतले गरेका छन् ।

यस अस्पतालले नशा च्यापिएको, हात खुट्टा झम्झमाउने, टाउको दुखेको, मिरगी आउने र टाउकोभित्र रगत जमेकोलगायतका न्यूरो सेवाहरुसमेत प्रदान गरिरहेको छ ।