एजेन्सी, ९ साउन । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा आइतबार अबेर राति आएको बाढीमा परी ५ जनाको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका छन् ।

प्रान्तीय गभर्नरको कार्यालयका अनुसार विनाशकारी बाढीले प्रान्तीय राजधानी जलालाबाद र प्रान्तका केही जिल्लाहरूमा ३२० घर र सयौं एकड खेतबारी पनि बगाएको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।

राजधानी काबुललाई पूर्वी प्रान्तसँग जोड्ने सडकमा रहेको एउटा प्रमुख पुल पनि बाढीले बगाएको विज्ञप्तिमा जनाएको छ । सडक अहिले बन्द गरिएको छ ।

दुई दिनअघि अफगानिस्तानको पञ्जशिर र तखार प्रान्तमा भारी वर्षा र बाढीले ठूलो धनजनको क्षति पुर्याएको थियो। यद्यपि, कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।