काठमाडौं, ९ साउन । एसिड पीडित मुस्कान खातुनको कथामा आधारित रहेर बन्ने फिल्ममा वन तथा वातावरणमन्त्री प्रदीप यादव र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अभिनय गर्ने भएका छन् ।

रमित ढुंगानाले निर्देशन गर्ने डेब्यु फिल्ममा मन्त्री यादव नायकको भूमिकामा देखिन लागेका हुन् भने मुख्यमन्त्री राउतको केमियो रोल रहने बताइएको छ ।

फिल्म छायांकनका लागि यसै हप्ता अमेरिकाबाट नेपाल आएका ढुंगानाले मन्त्री यादवसँग छायांकन तालिकाबारे छलफल गरेका छन् । मन्त्री यादवले छायांकनको लागि तीन दिनको समय छुट्टाएका छन् ।

ढुंगानाले मुस्कानको अप्ठ्यारो समयमा सहयोग गर्नेहरू सबैलाई समेटेर फिल्म बनाउन लागेका हुन् । जसको मुख्य भूमिकामा मुस्कान खातुन नै देखिने छिन् । मन्त्री यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुअघि नै फिल्ममा खेल्ने कुरा पक्का भइसकेको निर्माण टोलीले जनाएको छ ।

साउन अन्तिम सातादेखि फिल्मको छायांकन सुरु हुने बताइएको छ । मुस्कान बाहेक रमितका रोधी घर र पृथ्वीनारायण शाह नामका दुई प्रोजेक्ट पाइपलाइनमा रहेका छन् ।