काठमाडौं, ८ साउन । भारतमा आयोजना हुन लागेको साफ यु–२० च्याम्पियनसिपमा नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।

भुवनेश्वरमा आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको सम्पूर्ण तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका हुन् ।

कोरोना महामारीका कारण पछिल्लो २ वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यसपटक मुख्य प्रशिक्षक मेघराज केसीले खुला प्रतिस्पर्धाबाट युवा टोली तयार गरेका छन् । प्रतियोगिताका लागि टोलीले २ महिनादेखि तयारी गरेको र यस टोलीबाट आफू धेरै आशावादी रहेको बताउँदै उनले उपाधि जित्ने विश्वास व्यक्त गरेका हुन् ।

यस्तै, प्रि–म्याचमा कप्तान आयुष घलानले प्रतियोगिताका लागि आफ्नो टोली तयार भएको बताए । माल्दिभ्सविरुद्ध हुने पहिलो खेलमा ३ अंकका लागि खेल्ने उनले बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले मंगलबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । भुवनेश्वरको कालिंगा रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । उता, पहिलो प्रतिद्वन्द्वीका रुपमा नेपालविरुद्ध मैदान उत्रिन लागेको माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि नौलो रहेको कारण खेल्न कठिन हुने बताए ।

आफ्ना अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनले विश्वास व्यक्त गरे ।यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यसपटक २० वर्षमुनिको उमेर समूहमा हुन लागेको हो ।

प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ ।
राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।