काठमाडौं, ८ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले लेजेन्ड्स क्रिकेट लिग खेल्ने भएका छन् ।

पारसले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेजेन्ड्स लिग खेल्न लागेको जानकारी दिएका हुन् ।

भारतमा आयोजना हुने प्रतियोगिताको दोस्रो संस्करण आगामी सेप्टेम्बरदेखि अक्टोबरसम्म हुनेछ ।

प्रतियोगितामा विश्वभरका पूर्वखेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ४ टोलीले सहभागिता जनाउने प्रतियोगितामा ११० लेजेन्ड्स खेलाडी हुनेछन् ।

कुल १५ खेल प्रतियोगितमा हालसम्म पारससहित ५० खेलाडी पक्का भइसकेको लेजेन्ड्स लिग क्रिकेटले जनाएको छ ।

पारसले गतवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

नेपालले सन् २०१४ मा पारसको कप्तानीमा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो ।

प्रतियोगिताको पहिलो संस्करण वर्ल्ड जायन्ट्सले जितेको थियो ।