प्रदेशको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनको विषयमा प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण

काठमाण्डौ, ८ साउन । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रदेशको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंह, उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा सहितको टोलीले प्रधानमन्त्री देउवालाई आइतबार ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ मा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको एकल अधिकार सूचीभित्र रहेको भन्दै ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘प्रहरी समायोजन ऐन तथा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी व्यवस्था गर्न संघीय ऐन समेत बनिसकेको छ ।’
संवैधानिक तथा कानूनी व्यवस्थाको आधारमा आगामी निर्वाचन अगावै प्रहरी समायोजन गरी हस्तान्तरण गर्न तथा जिल्ला प्रशासनलाई प्रदेश सरकार मातहतमा ल्याउन आवश्यक निर्णय तथा निर्देशन दिई पहल गरिदिन ध्यानाकर्षण पत्रमार्फत अनुरोध गरिएको छ । मधेस प्रदेश राजधानीको भौतिक संरचना निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न प्रदेश सरकारले गठन गरेको समितिले प्रतिवेदन बुझाईसकेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
समितिले मधेस प्रदेशको सरकारी संरचना रहेको मधेस भवन (जनकपुर चुरोट कारखाना) र प्रदेश सभा रहेको स्थल लगायतका स्थानहरुमा स्थायी संरचना निर्माणका लागि सिफारिस गरिएका जग्गाहरु प्रदेश सरकारको नाउँमा हस्तान्तरण गर्न प्रदेश सरकारको तर्फबाट आग्रह गरिएको छ । साथै स्थायी भौतिक संरचनाका लागि समेत चाहिने आर्थिक स्रोत व्यवस्थापन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरिएको मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल सहित सत्ता साझेदार गठबन्धनमा रहेका पार्टीका अध्यक्षहरुको उपस्थितिमा प्रधानमन्त्री देउवालाई मधेस प्रदेशका मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराईएको हो । प्रधानमन्त्री देउवाले मधेस प्रदेशको तर्फबाट गराईएको ध्यानाकर्षणपत्रलाई सकारात्मक रुपमा लिएको तथा उक्त विषयहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको गृह तथा सञ्चारमन्त्री साहले जानकारी दिए ।
यसअघि गत शुक्रबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहित सत्तारुढ पार्टीका अध्यक्षहरुलाई सो विषयमा मुख्यमन्त्री राउत नेतृत्वको टोलीले ध्यानाकर्षणपत्र बुझाएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


