एजेन्सी, ३२ असार । स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले क्लबको आर्थिक समस्या समाधानका लागि फ्रयांकी डि जोङलाई बेच्न आवश्यक नभएको प्रतिक्रिया दिएका छन् ।

केही दिनअघि बार्सिलोनाले आर्थिक समस्या समाधान हुने लक्ष्यका साथ डि जोङलाई म्यानचेस्टर युनाइटेड पठाउन लागेको खबर सार्वजकि भएको थियो ।

जाभीको नेतृत्वमा रहेको टोलीले बिहीबार मात्र ओसमाने डेम्बेलेसँगको सम्झौता दुई वर्षका लागि नविकरण गरेको थियो । बार्सिलोनाले यसअघि नै आन्द्रियास क्रिस्टेनसेन, फ्रयांक केइसी र राफिन्हालाई अनुबन्ध गरिसकेको छ ।

बार्सिलोना बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लोवान्डोवस्की अनुबन्धको नजिक पुगेको विभिन्न सञ्चारमाध्यमले बताएका छन् । साताको सुरुवातमा भने क्लबले डी जोङलाई ७५ मिलियन पाउन्डमा युनाइटेडलाई बेच्न सहमत भएको खबर सार्वजनिक भएको थियो ।

तर, डि जोङले भने बार्सिलोनामै बस्ने इच्छा देखाएका थिए । त्यसैले, बार्सिलोना उनलाई अन्यत्र पठाउने योजनाबाट पछि हटेको अनुमान गरिएको छ ।