एजेन्सी, ३२ असार । फ्रेन्च स्ट्राइकर मारी एन्टोइनेट काटोटोले महिला युरोकप २०२२ को बाँकी खेल गुमाउने छन् ।

घुँडाको चोटका कारण उनले युरोकप गुमउने फ्रेन्च फुटबल संघले पुष्टि गरेको हो ।

बेल्जियमविरुद्धको खेलका क्रममा बिहीबार चोट लागेको थियो । काटोटोको घुँडाको एन्टिेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) फाटेको बताइएको छ । फ्रान्सले उक्त खेल २–१ ले आफ्नो पक्षमा पारेको थियो ।

चोटका कारण उनले बेल्जियमविरुद्ध खेलको १७ औं मिनेटमै मैदान छाड्नु परेको थियो । उनको स्थान ओलेमाता सरले लिएकी थिइन् ।फ्रान्स समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

काटोटोले युरो कपको आफ्नो पहिलो खेलमा फ्रान्सले इटालीमाथि ५–१ को प्रभावशाली जित हात पर्दा एक गोल गर्नुका साथै एक गोलका लागि अवसर सिर्जना गरेकी थिइन् ।