एजेन्सी, ३१ असार । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्ड विजयी भएको छ ।

उसले गएराति नामिबियामाथि तीन विकेटको जित हात पारेको हो । २१६ रनको लक्ष्य स्कटल्याण्डले ४८.५ ओभरमा सात विकेट गुमाउँदै भेट्टायो ।

उसका लागि कलुम म्याक्लोयोड र क्रिस ग्रिभ्सले अर्धशतकीय पारी खेले । उनले ९३ बलमा सात चौकासहित ५९ रन जोडे । ५३ रनमा अविजित रहेका ग्रिभ्सले ४८ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । सफ्यान शरिफले अविजित ४०, म्याथ्युज क्रसले २९, जर्ज मुन्सेले १७ र मार्क वाटले ११ रन जोडे ।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले तीन तथा डेविड विसे, बेन शिकोन्गो र जान फ्राइलिंकले एक÷एक विकेट हात पारे । त्यसअघि ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २१५ रन बनाएको थियो ।

उसका लागि जन फ्राइलिंक र कप्तान गेर्हार्ड इरास्मसले अर्धशतकीय पारी खेले । ६० रनमा अविजित रहेका फ्राइलिंकले ४८ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । इरास्मसले ७२ बलमा समान दुई चौका र छक्कासहित ५६, जेजे स्मिथले २६ र डिभान ला ककले २३ रन जोडे ।

स्कटल्याण्डका गाभिन मेन र हेम्जा ताहिरले तीन÷तीन तथा मार्क वाटले एक विकेट लिए । यो जितसँगै स्कटल्याण्ड २३ खेलमा ३२ अंकका साथ लिग–२ को दोस्रो स्थानमा रहँदा पराजित नामिबिया १७ खेलमा १६ अंकका साथ छैटौं स्थानमा छ ।

सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले पराजित गर्दा नेपालसँग पाँच विकेटको हार बेहोरेको थियो । नामिबियाले स्कटल्याण्डसँग ७७ रनको हार बेहोर्दा नेपाललाई ४० रनले पराजित गरेको थियो ।

अब आफ्नो अन्तिम खेलमा नामिबियाले शनिबार तथा स्कटल्याण्डले आइतबार नेपालको सामना गर्नेछन् ।