एजेन्सी, ३० असार । सिंगापुर सरकारले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर पुगेका विषयमा स्पष्टीकरण दिएको छ ।

मिडियाका प्रश्नहरुको जवाफ दिँदै सिंगापुरमा विदेश मन्त्रालयका प्रवक्ताले राजापाक्षे निजी यात्राका लागि सिंगापुर पुगेको बताए ।

उनले भने, ’श्रीलंकाका राष्ट्रपति राजापाक्षे निजी भ्रमणका लागि सिंगापुर आउने अनुमति दिइएको हो । उनले राजनीतिक शरण मागेका छैनन् । र, कसैलाई राजनीतिक शरण दिइएको छैन । सिंगापुर सामान्य रूपमा राजनीतिक शरण दिने निवेदनलाई स्वीकार गर्दैन ।’

श्रीलंकामा जारी अस्थिरताका बीच एक दिन पहिला राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स पुगेका थिए । उनले अहिलेसम्म राजीनामा दिएका छैनन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमसिंघे कार्यकारी राष्ट्रपति बनेका छन् ।

श्रीलंकामा प्रदर्शनकारी गोटाबाया राजापाक्षे र विक्रमसिंघे दुवैको राजीनामा मागिरहेका छन् ।