एजेन्सी, ३० असार । घरेलु टोली वेस्ट इण्डिजविरूद्धको एकदिवसीय सिरिज बंगलादेशले जितेको छ । गएरातिको दोस्रो खेलमा नौ विकेटको शानदार जित हात पर्दै बंगलादेशले एक खेल अगावै सिरिजमाथि कब्जा जमाएको हो ।

उसले पहिलो खेलमा ६ विकेटको जित हात पारेको थियो । १०९ रनको लक्ष्य बंगलादेशले २४.४ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि कप्तान तमिम इक्वालले अविजित ५० रनको अर्धशतकीय पारी खेले । ६२ बलको सामना गरेका उनले सात चौका प्रहार गरे । लिटोन दास ३२ रनमा अविजित रहँदा नजमुल हुसेन शान्तोले २० रन जोडे ।

वेस्ट इण्डिजका लागि एक मात्र विकेट गुडाकेश मोतीले हात पारे । यसअघि गुयानास्थित प्रोभिडेन्स स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले ३५ ओभरमा सबै विकेट गुमाउँदै १०८ रन बनाएको थियो ।

उसका लागि किमो पलले अविजित रहँदै सर्वाधिक २५ रनको योगदान दिए । शाई होपले १८,काइल मायर्सले १७, रोभमन पावेलले १३ र ब्रेन्डन किङ्गले ११ रन जोडे । बंगलादेशका लागि मेहदी हसनले चार,नासुम अहमदले तीन तथा सोरिफुल स्लाम र मोसाद्देक हुसेनले एक/एक विकेट लिए ।

यो जितसँगै बंगलादेशले तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ । तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।