हंसपुरका बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू ८ महिनादेखि तलबबाट वञ्चित

जनकपुरधाम, ३० असार । धनुषाको हंसपुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू विगत ८ महिनादेखि तलबबाट वञ्चित भएका छन् ।
तोकिएको पारिश्रमिक उपलब्ध गराउन नगरप्रमुख प्रदिप यादवसँग माग गरेपनि उनले कुनै सुनुवाइ नगर्दा बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलमा जाने चेतावनी दिएका छन् ।
बालविकास शिक्षक तथा विद्यालय कर्मचारी संयुक्त संघर्ष समितिका संयोजक रेणु मण्डलले आफूहरूले विगत ८ महिनादेखि तलब नपाएको गुनासो गरिन् । उनले नगरप्रमुख यादवले तलबका लागि कुनै चासो नदेखाउँदा बाध्य भएर आफूहरू आन्दोलनमा उत्रने निर्णय गरेको बताइन् । उनले आफूहरूले नगरप्रमुख यादवलाई समस्या समाधान गर्न आग्रह गर्दै ज्ञापनपत्रसमेत बुझाएको बताइन् । तरपनि नगरप्रमुखले कुनै चासो नदेखाएको उनको दुःखेसो छ ।
उनले आफूहरूको माग पूरा नगरिए चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने चेतावनीसमेत दिएकी छन् ।
बालविकासका शिक्षकले मासिक ८ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने र सरकारी तहबाट भएको यो विभेदलाई यथाशीघ्र सच्याउनुपर्ने शिक्षकहरूको माग छ ।
उनीहरूले लेखापालको मासिक तलब १८ हजार ५ सय र बालविकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार हुनुपर्ने मागसमेत गरेका छन् । हंसपुर नगरपालिकाभित्रका ३० वटा सामुदायिक विद्यालयमा ७१ जना कर्मचारीहरू कार्यरत रहेका छन् । जसमध्ये बालविकासका ४९ जना, सहयोगी १९ जना र ३ जना लेखापालहरू छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


