भारतमा २४ घण्टामा १८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

एजेन्सी, २६ असार । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा १८ हजार २५७ कोरोना सङ्क्रमित थपिएका छन् ।
हाल भारतमा १ लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् । यो कुल सङ्क्रमितको ०.३० प्रतिशत हो । करिब चार महिनापछि १० दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।
हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३६ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
पछिल्लो एक दिनमा १४ हजार ५५३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या ४ करोड २९ लाख ६८ हजार ५३३ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ ।
चौबिस घण्टाको समयावधिमा कोरोना सङ्क्रमणमा ४२ जनाको मृत्यु भएको छ । कोरोना सुरु भएबाट हालसम्म यस महामारीको कारण ५ लाख २५ हजार ४२८ जनाको मृत्यु भएको छ ।
२४ घण्टाको सो अवधिमा ४ लाख ३२ हजार ७७७ कोरोना परिक्षण भएको जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड ६६ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । २४ घण्टाको समयावधिमा १० लाख २१ हजार १६४ डोज कोरोनाविरुद्धको खोप लगाइएको सो मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोनाविरुद्ध १ अर्व ९८ करोड ७६ लाख ५९ हजार २९९ डोज खोप लगाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


