एजेन्सी, २४ असार । चुनावी भाषणका क्रममा गोली प्रहार गरिएको जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको जापानको राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको बिबिसीले लेखेको छ ।

जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका ६७ वर्षीय आबेलाई चुनावी भाषणका क्रममा गोली प्रहार गरिएको थियो ।

’शिन्जो आबेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ, उनीमाथि नारामा सार्वजनिक भाषण गर्ने क्रममा आक्रमण भएको थियो, लिबरल डेमोक्र्याटिक पार्टीका एक वरिष्ठ अधिकारीले भनेका छन’, जापानी सञ्चारमाध्यम एनएचकेको भनाइ उद्धृत गर्दै बिबिसी न्युजले खेलेको छ ।

जापानी सञ्चारमाध्यममा पनि गोली लागेर आबेलाई हृदयाघात भएको उल्लेख गरेका छन् । जापान टाइम्सका अनुसार गोलीका कारण आबेको घाँटीमा चोट लागेको थियो भने छातीभित्र रगत पनि बगेको थियो ।

प्रहरीले ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ । शंकास्पद आक्रमणकारीलाई नाराको निशी प्रहरी चौकीमा लगिएको छ । जापानी मिडियाका अनुसार आक्रमणकारी सामुद्रिक सेल्फ डिफेन्स फोर्सका सदस्य हुन् ।