मधेस प्रदेश : नेता तथा शहीदहरूको शालिक निर्माण गर्न करिव साढे ७ करोड रुपैयाँ बजेट छुट्याइयो

जनकपुरधाम, २४ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेता तथा शहीदहरूको शालिक निर्माणका लागि करिव साढे ७ करोड रुपैयाँ छुट्याएको छ ।
आर्थिक वर्ष २०७९÷८० को बजेटमा सप्तरीमा रामराजा सिंहको शालिक निर्माणका लागि ५० लाख, महोत्तरीमा विद्यापति प्रतिमा स्थापना तथा सौन्दर्यीकरणका लागि ५० लाख विनियोजन गरिएको हो । त्यस्तै, रामनारायण मिश्रको शालिक निर्माण गर्न ५० लाख, गजेन्द्रनारायण सिंहको शालिक निर्माण गर्न ५ करोड र गणेश नेपालीको शालिक निर्माण गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ ।
यस्तै, जनकपुरधाम उपमहानगरपालिका–२५ मा अरविन्द ठाकुरको शालिक निर्माणका लागि १० लाख, जनकपुरधाम–२३ मा अमर शहीद दुर्गानन्द झा लगायत शहीदहरूको स्मारक निर्माणका लागि ४० लाख र रामनारायण मिश्र स्मारक निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
भौतिक पूर्वाधारमन्त्री राम सरोज यादवले रामनारायण मिश्र र दुर्गानन्द झा लगायत शहीदहरूले मुलुकमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले शालिक निर्माणका लागि बजेट विनियोजन गरिएको बताएका छन् ।
यता, विपक्षी दलले भने विकासका लागि भन्दा अनुत्पादक ठाउँमा बजेट विनियोजन भएकोमा असन्तुष्टि जनाएका छन् । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले सरकारले ल्याएको बजेट विकासको पक्षमा नरहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


