एजेन्सी, २३ असार । घरेलु टोली क्यानडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाली क्रिकेट टिम ८३ रनले पराजित भएको छ ।

बुधबार राति सम्पन्न खेलमा हार बेहोरेसँगै नेपालले सिरिज पनि १–० ले गुमाएको छ ।

१८९ रनको लक्ष्य पछ्याएको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो । नेपालका कुनै पनि ब्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । टोलीका लागि देव खनालले सर्वाधिक २६ रनको योगदान दिए ।

पवन सर्राफले १४, बसिर अहमद, विनोद भण्डारी र आदिल अन्सारीले १३÷१३ तथा कप्तान सन्दीप लामिछानेले ११ रन जोडे ।

क्यानडाका लागि अमर खालिद, सलमान नजर, रोमेल शहजाद,साद बिन जफर र हर्ष थाकरले दुई÷दुई विकेट लिए ।

त्यसअघि खेल किङ्ग सिटीस्थित मेपल लिफ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो ।

उसका लागि श्रेयस मोभाले अर्घशतकीय पारी खेले । ५० रनमा अविजित रहेका उनले ५९ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।आरोन जोन्सनले ४४ र अमर खालिदले अविजित ३०, उदयवीर सिंहले १६ तथा अखिल कुमारले १२ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा किशोर महतो, करण केसी, बसिर अहमद र आदिल अन्सारीले एक÷ एक विकेट हात पार्यो । सिरिजको पहिलो खेल लगातारको वर्षाका कारण टस समेत हुन नपाई रद्द भएको थियो ।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि क्यानडा भ्रमण गरेको हो ।

यसअघि नेपालले क्यानडाको स्थानिय क्लब ओन्टारियो क्रिकेट एकेडेमीसँग दुई अभ्यास खेल खेलेको थियो । दुवै खेल नेपालले आफ्नो पक्षमा पार्याे ।

अब नेपाली टोली लिग–२ अन्तर्गतको सिरिजका लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । घरेलु टोली र नामिबिया पनि सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ ।