प्रहरी समायोजन नगरे संघ सरकारका सुरक्षाकर्मीलाई चौकीबाट बाहिर निकाल्ने चेतावनी

जनकपृुरधाम, २३ असार । प्रहरी समायोजन ऐन चाँडै कार्यान्वयन नभए संघीय सरकारविरुद्ध संयुक्त रुपमा कडा कदम उठाउन बाध्य हुने ६ वटा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले चेतावनी दिएका छन् ।
जनकपुरधाममा बिहीबार मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश अनुभव आदान प्रदान कार्यक्रममा ६ वटै प्रदेशका मन्त्रीहरुले यस्तो चेतावनी दिएका हुन् ।
संघीय सरकारले प्रहरी समायोजन ऐन कार्यान्वयन गर्न नचाहेकाले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको मन्त्रीहरुको गुनासो थियो ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयता र संविधान कार्यान्वयनका लागि साटवटै प्रदेशलाई एक जुट हुन आग्रह गरे ।
राउतले संविधान प्रदत अधिकारहरुको कार्यान्वयनमा संघ सरकार आनाकानी गरि रहेकोले त्यस्ता अधिकारहरुको कार्यान्वयनका लागि सातवटै प्रदेशलाई एक स्वरमा आवाज उठाउनु पर्नेमा जोड दिए ।
संघ सरकारले प्रदेशलाई विकास युनिट बनाउन खोजेको आरोप लगाउँदै मुख्यमन्त्री राउतले संविधानले सुनिश्चित गरेको अधिकारहरु लिन संघ सरकारसँग लडनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने,‘साढे दुई वर्ष अघि नै पारित भइसकेको प्रहरी ऐन कार्यान्वयन नगर्नु भनेको के हो ? संघीयता विरोधी कदम होइन र ?’
मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सातवटै प्रदेश गोलबन्द भएर चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए । उनले संघीय सरकारले प्रहरी समायोजन गरी माग सम्बोधन नगरे संघ सरकारका सुरक्षाकर्मीलाई चौकी चौकीबाट बाहिर निकाल्ने चेतावनीसमेत दिए ।
संविधानले दिएको अधिकार कार्यान्वयन गर्न संघीय सरकार आनाकानी गरेकाले एकमत भएर अघि बढ्नुको विकल्प नरहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए ।
उनले भने, ‘संघीयता विरोधी तथा एकात्मक सोच भएकाहरुलाई सन्देश दिन यहाँ भेला भएका हौँ । जनकपुर घोषणापत्र जारी पछि दबाब सिर्जना गर्न मुख्यमन्त्री र मन्त्रीहरु संघ सरकारलाई दवाब दिन काठमाडौं जाऔँ ।’

त्यस्तै, बाग्मती प्रदेशका आन्तरिक मामिला मन्त्री कृष्ण प्रसाद खनालले संविधान जारी भए अनुसार नै कार्यान्वयनमा अवरोध गर्नेलाई धरातल देखाई दिने चेतावनी दिए ।
६ वटा प्रदेशका मन्त्रीहरुको भेलाबाट ७ बुँदे जनकपुरधाम घोषणा पत्र समेत जारी गरिएको छ ।
सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुलाई भेलामा बोलाइएपनि कर्णाली प्रदेशका आन्त्रिक मामिला तथा कानून मन्त्री भने उपस्थित भएका थिएनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


