गर्भवती महिलाको उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाही गर्न माग

जनकपुरधाम, २१ असार । मधेस प्रदेशका प्रदेशसभा सदस्यले प्रादेशिक अस्पताल जनकपुरधामले जाँच नै नगरी शल्यक्रिया गर्दा बिरामीको ज्यान खतरामा परेको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
प्रदेशसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्यले कुनै जाँचै नगरी पित्तथैली शल्यक्रिया गर्दा गर्भवती महिला बिभा चौधरीको स्वास्थ्य अवस्था जटिल भएकाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
प्रदेशसभा सदस्य परमेश्वर साहले पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गराउन प्रादेशिक अस्पतालमा भर्ना भएकी महोत्तरीकी बिभाको स्वास्थ्य जाँच नगरी चिकित्सकले शल्यक्रिया गर्दा उनको जीवन खतरामा पुगेको बताए ।
साहले भने, ‘शल्यक्रिया अघि भिडियो एक्सरे, एक्सरे गर्ने गरिन्छ, तर बिभाको शल्यक्रिया अघि अस्पतालले कुनै किसिमको जाँच गरिएको छैन । यो घटनामा चिकित्सकको चरम लापरबाही देखिन्छ, चिकित्सकले संवेदनशीलता नदेखाएकाले गर्भवती महिलाको ज्यान खतरामा पुगेको छ । त्यसैले घटनाको सत्यतथ्य छानबिन गरेर चिकित्सकमाथि कारबाही गर्नुपर्छ ।’
बिभाको घटनाले मधेस प्रदेशको स्वास्थ्य अवस्थालाई उजागर गरेको भन्दै प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले लापरबाही गर्ने प्रादेशिक अस्पतालका चिकित्सवलाई तत्काल कारबाही गर्नुपर्नेमा जोड दिए ।
प्रदेशसभा सदस्य मनिष सुमनले बिभाको जीवनसँग चिकित्सकले खेलवाड गरेको आरोप लगाउँदै शल्यक्रियामा संलग्न चिकित्सक मुख्य दोषी रहेकाले तत्काल छानबिन गरेर दोषी चिकित्सकको लाइसेन्स खारेज गर्नुपर्ने माग गरे ।
घटनामा चिकित्सकको लापरबाही देखिए पनि अहिले चिकित्सकले शल्यक्रिया मैले गरेको होइन भनी पन्छिन खोजेको आरोप लगाउँदै प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले घटनाको छानबिन गरेर दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग गरिन् ।
यसैबीच प्रदेशसभाको बैठकले घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन मधेस प्रदेशसभाअन्तर्गत महिला, बालबालिका तथा सामाजिक न्याय समितिलाई निर्देशन दिएको छ ।
सभामुख सरोजकुमार यादवले प्रादेशिक अस्पतालमा भएको सो घटना छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


